बैतडी, २४ वैशाख — बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

२०८२ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकमा तत्कालीन गृहमन्त्री रमेश लेखकको प्रस्तावमा देशभर २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय भएको थियो, जसअन्तर्गत मेलौली पनि समावेश थियो।
निर्णय भएको करिब ८ महिनापछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले कार्यालय उद्घाटन गरेका हुन्।

उद्घाटनका क्रममा मेलौली नगरपालिका–७ का दीपक अवस्थीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै कार्यालयको सेवा शुभारम्भ गरिएको हो ।

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका तथा पाटन नगरपालिकाका केही वडाका नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले स्थानीय नागरिकलाई छिटो, सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय स्थापना गरिएको बताए ।

कार्यालय स्थापनासँगै स्थानीय नागरिकहरूले नागरिकता तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

यसअघि मेलौली नगरपालिका नागरिकहरूले नागरिकता बनाउन तथा राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। कार्यालय स्थापनापश्चात् नागरिकता वितरण, राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक लगायत प्रशासनिक सेवाहरू अब स्थानीय स्तरमै उपलब्ध हुनेछन्।

इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्टले सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *