५ असार, बैतडी । बैतडीको दशरथचन्द राजमार्ग अन्तर्गत शाहिलेक नजिक छेलामा बुधबार साँझ एउटा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६४६ नम्बरको बस बुधबार साँझ  ५ बजेर ४० मिनेटमा दशरथचन्द नगरपालिका–४,शाहिलेक नजिक छेलामा बस  अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको हो ।

दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ बस्ने ३५ वर्षीय वीरेन्द्र बहादुर चन्दको मृत्यु भएको छ ।

मृतक चन्द पाटन नगरपालिका–४ स्थित भुमेश्वर माध्यमिक विद्यालयका शिक्षक हुन् ।

दुर्घटना लगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी नायब उपरीक्षक दीपक कुमार रायको नेतृत्वमा २५ जनाको टोली घटनास्थल पुगेर उद्धार कार्य गरेको थियो ।

बसमा चालकसहित जम्मा १२ जना सवार थिए । घाइते १० जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ । घाइतेमध्ये धेरैको अवस्था सामान्य रहे पनि एक जनाको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइतेहरूमा दशरथचन्द नगरपालिका–४ की २७ वर्षीया लक्ष्मी ऐरी, दशरथचन्द नगरपालिका–४ मडालाका ८ वर्षीय हेमविक्रम जोशी, दशरथचन्द नगरपालिका–४ मडालाकी ६० वर्षीया पूर्णदेवी जोशी, दशरथचन्द नगरपालिका–४ की २२ वर्षीया पूजा कार्की, दशरथचन्द नगरपालिका–२ देहीमाण्डौकी २० वर्षीया ललिता लावड, ३२ वर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–६ की ३० वर्षीया लक्ष्मी साउँद, दशरथचन्द नगरपालिका–५ का ५२ वर्षीय कर्णदेव भट्ट, दशरथचन्द नगरपालिका–४ का ३ वर्षीया दृष्टि कार्की र बसका सहचालक पाटन नगरपालिका–९ का ३५ वर्षीय कविराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *