बैतडी, जेठ २१ । बैतडीमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। दिवसका अवसरमा जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि जनचेतना अभिवृद्धि र पैरवी गर्ने उद्देश्यले सदरमुकाममा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।

दलित समाज विकास मञ्चको आयोजनामा सम्पन्न कार्यक्रम मञ्चकी अध्यक्ष तथा अधिकारकर्मी सरस्वती नेपालीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, नागरिक समाज, युवा तथा सरोकारवालाको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले जातीय विभेद तथा छुवाछुत अझै पनि समाजका विभिन्न तहमा विद्यमान रहेकाले यसको अन्त्यका लागि राज्य, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

मञ्चकी अध्यक्ष नेपालीले नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै कुनै पनि प्रकारको जातीय विभेद र छुवाछुत स्वीकार्य नहुने बताइन्। उनले समतामूलक, न्यायपूर्ण र सभ्य समाज निर्माणका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने, त्यसका लागि व्यवहारिक परिवर्तन र सामाजिक चेतनाको विकास आवश्यक रहेको धारणा व्यक्त गरिन्।

कार्यक्रम संयोजक सुरेश सेरलाले विभिन्न सामाजिक कुरीति, प्रथा तथा परम्पराका कारण जातीय विभेद र छुवाछुतका घटना अझै कायम रहेकाले यसको अन्त्यका लागि सबै पक्ष सक्रिय हुनुपर्ने बताए। साथै, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी विद्यमान कानुनी व्यवस्थाबारे व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउँदै कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।

कार्यक्रममा सहभागीहरूले जातीय भेदभावमुक्त समाज निर्माणका लागि शिक्षा, जनचेतना, कानुनको प्रभावकारी कार्यान्वयन तथा सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन्। उनीहरूले जातीय विभेद सामाजिक न्याय, समानता र समावेशी विकासको प्रमुख बाधक भएकाले यसको पूर्ण अन्त्य आजको आवश्यकता भएको बताएका छन्।

जातीय भेदभाव गरेमा सजाय हुने कानुनी व्यवस्था रहेकाले बनेका कानुनहरुको बारेमा सबैलाई जानकारी गराउनुपर्नेमा समेत जोड दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *