ललितपुर, जेठ २१। नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल) को ६६औँ राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशनबाट रेभ. पाष्टर वीरबहादुर तामाङ कोषाध्यक्षमा निर्वाचित भएका छन्।
ललितपुरस्थित आराधना मण्डलीमा आयोजित अधिवेशनमा मंगलबार निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको हो। निर्वाचनमा ७ सय ६६ प्रतिनिधिमध्ये ७ सय ३ जनाले मतदान गरेका थिए।
निर्वाचनमा तामाङले १ सय ५७ मत प्राप्त गर्दै कोषाध्यक्ष पदमा विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी पा. आशिष लामाले ८४ मत प्राप्त गरेका थिए। यस्तै, पा. मान राईले ८३, पा. इन्द्र दहालले ७२, पा. प्रकाश विक्रम भाटले ३३ तथा पा. कुमार गुरुङले २७ मत प्राप्त गरे।
त्यस्तै अधिवेशनबाट अध्यक्षमा किरण कुमार (दास ) परियार उपाध्यक्षमा तारासिंह गुरुङ, सचिवमा ईश्वरप्रताप लामा तथा निर्वाचित भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यमा उदयराज भट्ट, छवी मोक्तान, पदमप्रसाद सेडाईं, महेश दोङ र बोधराज सुनुवार निर्वाचित भएका छन्।
तामाङ एनसीएफ नेपालका निवर्तमान सचिव समेत हुन्। उनी ‘सुन्दर नेपाल सरसफाइ अभियान’ का संस्थापक तथा केन्द्रीय अध्यक्षका रूपमा परिचित छन्। विगत एक दशकभन्दा लामो समयदेखि सरसफाइ, वातावरण संरक्षण तथा जनचेतनामूलक अभियानमा सक्रिय रहँदै आएका उनले नेपाल सरकार, स्थानीय तह तथा विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै सरसफाइ प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। समुदायस्तरमा सरसफाइ संस्कृतिको विकास, फोहोर व्यवस्थापन तथा वातावरण संरक्षणमा उनको योगदान उल्लेखनीय रहेको छ।