धनगढीस्थित कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
कैलाली प्रहरीका प्रवक्ता एवं डीएसपी राजकुमार सिंहले कारागारको परिस्थिति प्रहरी प्रशासनको नियन्त्रणमा रहेको बताए । “कारागारमा उत्पन्न परिस्थितिलाई सामान्य बनाइराख्न कारागार परिसरमा ५० जना सुरक्षाकर्मी परिचालन गरेका छौँ,” उनले भने, “झडपको घटनापछि कैदीबन्दीका आफन्त भेट्न पुगिरहेकाले उहाँहरूलाई भेटघाटको व्यवस्थापन गरिरहेका छौँ ।”
घटनाका विषयमा प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको अध्यक्षतामा शनिबार (साउन २४) बसेको बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।
कारागारमा कैदीबन्दीबीच शुक्रबार (साउन २३) राति झडप हुँदा घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा शनिबार मृत्यु भएको थियो । घटनामा घाइते भएका ४४ कैदीबन्दीको उपचार सेती प्रादेशिकनजिकै कोरानाकालमा निर्माण गरिएको अस्पतालमा भइरहेको छ ।
कारागारभित्र ब्लक ‘ए’ र ब्लक ‘बी’मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।
गएको बिहीबार (साउन २२) राति पनि उनीहरूबीच आपसमा हानाहान भएको थियो । त्यसपश्चात् प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाइ गरेपछि अवस्था समान्य बनेको थियो ।
कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुनः शुक्रबार राति आपसमा ढुंगामुढा गरिएको बताए । गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो ।
कैदीबन्दीको सरुवाबारे मतैक्य हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ ।
१५० क्षमताको कैलाली कारागारमा हाल ६८० जना रहेका छन् । रासस
