रवि लामिछानेलाई जमानतमा छाड्न अदालतद्वारा अस्वीकार
रुपन्देही जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जमानतमा छाड्न अस्वीकार गरेको छ।

लामिछानेले दिएको निवेदनमा जिल्ला न्यायाधीश नारायण सापकोटाको इजलासले सोमबार सुनुवाइ गर्दै ‘मागबमोजिम नहुने’ आदेश दिएको अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिए।

लामिछानेले आफ्नो भागमा परेको बिगो तिर्ने भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७१ अनुसार बैंक ग्यारेन्टीसहितको निवेदन अदालतमा दिएका थिए। उनले साउन १९ गते आफ्नो बिगो बराबरको दुई करोड ७४ लाख ८५ हजार रुपैयाँको बैंक जमानत पेश गरेका थिए।

सोमबारको सुनुवाइपछि इजलासले जमानतमा छाड्न अस्वीकार गरेसँगै उनी थुनामै रहने भएका छन्। लामिछाने गत चैत २५ गतेदेखि भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन्।

यसअघि जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिए पनि उच्च अदालत बुटवलले उक्त आदेशलाई उल्टाउँदै थुनामा पठाएको थियो। उच्च अदालतको आदेशलाई सर्वोच्चले पनि सदर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *