यातायात व्यवस्था विभागले देशभर सञ्चालन हुने अन्तर प्रदेश (लामो दूरी) का यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादरमा ५ प्रतिशतले वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ, विशेषगरी डिजेलको मूल्यमा भएको भारी वृद्धिका कारण विभागले स्वचालित प्रणाली अनुसार भाडा बढाउने निर्णय गरेको हो ।

विभागले सूचना जारी गर्दै नयाँ भाडादर आज(बुधबार) देखि नै लागू हुने जानकारी दिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार हाल डिजेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ ।

२०८३ वैशाख ३ गते डिजेलको मूल्यमा प्रतिलिटर ५५ रुपैयाँले वृद्धि भई २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ । यो अघिल्लो भाडा समायोजन ९२०८२ चैत २५ गते० को समयमा रहेको डिजेलको औसत बजार मूल्यको तुलनामा ३०।४१ प्रतिशतको वृद्धि हो ।

इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडा समायोजन गर्ने वैज्ञानिक भाडादर प्रणाली अनुरूप विभागले यो निर्णय लिएको हो ।

विभागले यात्रुवाहक सवारी साधनमा ५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ५ प्रतिशत वृद्धि र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीम ५ प्रतिशत वृद्धि गरिएको छ ।

यो नयाँ भाडादर वृद्धि राष्ट्रिय स्तरका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका हकमा मात्र लागू हुनेछ ।

विभागले विद्युतीय सवारी साधनको हकमा भने भाडा वृद्धि नगरेको प्रस्ट पारेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैशाख १२ गतेको सैद्धान्तिक सहमति अनुसार यो भाडादर समायोजन गरिएको विभागले जनाएको छ ।

मूल्यवृद्धिका कारण मारमा परेका यातायात व्यवसायीहरूलाई यसले केही राहत दिए पनि सर्वसाधारण यात्रु र उपभोग्य वस्तुको ढुवानी लागतमा भने यसले थप आर्थिक भार थप्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *