काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब किंग्सविरुद्ध चार विकेटको जित निकालेको छ । 

आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा पन्जाबले प्रस्तुत गरेको १६४ रनको लक्ष्य घरेलु टोली गुजरातले एक बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गरेको हो । 

गुजरातका ओपनर साई सुदर्शनले ५७ रनको अर्धशतकीय इनिङ खेले । उनले ४१ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । वासिङटन सुन्दर ४० रनमा अविजित रहँदा जोस बट्लरल २६ र निशान्त सिन्धुले १५ रन जोडे । 

दोस्रो विकेटका निम्ति सुदर्शन र बट्लरले ५३ रनको साझेदारी गरेका थिए । 

पन्जाबका अर्शदीप सिंह र विजयकुमार वैशाकले समान दुई विकेट लिए । मार्को यानसेन र मार्कोस स्टोइनिसले समान एक विकेट हात पारे । 

त्यसअघि, टस हारेर ब्याटिङमा आएको पन्जाबले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६३ रनको योगफल खडा गरेको थियो । 

पन्जाबका सुर्यान्स शेड्गेले ५७ रनको अर्धशतकीय इनिङ खेले । उनले २९ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे । मार्कोस स्टोइनिसले ४० र मार्को यानसेनले २० रन बनाए । कप्तान श्रेयस अय्यरले १९ र प्रभसिम्रन सिंहले १५ रन जोडे । 

छैटौँ विकेटका निम्ति शेड्गे स्टोइनिसबीच ७९ रनको साझेदारी भएको थियो । 

गुजरातका जेसन होल्डरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिए । मोहम्मद सिराज र कागिसो रबाडाले समान दुई विकेट लिँदा रासिद खानले एक विकेट हात पारे । 

जितसँगै १० खेलमा १२ अंक जोडेको गुजरात पाँचौँ स्थानमा छ । हारका बाबजुद नौ खेलबाट १३ अंक जोडेको पन्जाब शीर्ष स्थानमा कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *