बैतडी । बैतडीको पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझालाई कालोमोसो दली जुत्ताको माला लगाएर अपमानित गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओझामाथि दुव्र्यवहार गरेको आरोप लगाउने ३८ वर्षीया महिला तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) ओमबहादुर रानाले जानकारी दिए ।

शिक्षक छनोटको परीक्षामा तारा महता अनुत्तीर्ण भएपछि आक्रोशित बनेको परिवारले उक्त हर्कत गरेको बताइएको छ ।

शिवनाथ गाउँपालिका–४ को पिपलकोट माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझामाथि कालोमोसो लगाएर सार्वजनिक रुपमा बेइज्जत गराएको भन्दै प्रहरीले महिलासहितका चार जनालाई पक्राउ गरेको हो ।

उनकाअनुसार चारै जनालाई इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले शुक्रबार दिउँसो घरबाटै पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *