काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेका चर्चित ब्रान्डका चाउचाउ र बिस्कुटहरू स्वास्थ्यका लागि अहितकर र गुणस्तरहीन फेला पारेपछि ती उत्पादनहरू बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ । विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा ती खाद्य पदार्थमा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ सरकारले तोकेको अनिवार्य मापदण्डभन्दा बढी पाइएको हो ।
विभागका अनसार यशोदा फुड्स प्रालि (तिलोत्तमा, रुपन्देही) द्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ चाउचाउको ब्याच नम्बर ०४ ए भएको मापदण्ड विपरीत पाइएको छ । यस्तै सोही उद्योगबाट उत्पादन भएको ५० ग्रामको ‘लाली’ चाउचाउको ब्याच नम्बर ०२ ए पनि गुणस्तरहीन भेटिएको छ ।
त्यस्तै एशियन बिस्कुट एन्ड कन्फेक्सनरी प्रालि (दुहबी, सुनसरी) द्वारा उत्पादित ७५ ग्रामको ‘ज्याक न्याक क्राकर्स’ बिस्कुटको ब्याच नम्बर ६ मा पनि तोकिएको मापदण्ड पुरा नभएको विभागले जनाएको छ ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ (२) बमोजिम विभागले ती उत्पादक कम्पनीहरूलाई सम्बन्धित ब्याचका सबै उत्पादनहरू बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।
साथै, सोही ऐनको उपदफा (४) बमोजिम ती सामग्रीहरूको बिक्री वितरण रोक्का गर्न र अर्को सूचना नभएसम्म बिक्री नगर्नरनगराउन समेत महानिर्देशकको निर्देशन बमोजिम आदेश जारी गरिएको छ।
चाउचाउ र बिस्कुट जस्ता तयारी खाजाको अत्यधिक प्रयोग हुने गरेकाले, यस्ता उत्पादनमा एसिड भ्यालु बढी हुनु स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ । विभागले उपभोक्ताहरूलाई समेत सचेत रहन आग्रह गरेको छ ।


