काठमाडौं २७ मंसिर। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै लगातार एनपिएल संस्करणको फाइनलमा प्रवेश गरेको हो।

लुम्बिनीले पनि दोस्रोक्वालिफायरमा विराटनगरलाई नै ४० रनले पराजित गर्दै आफ्नो फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ ।

लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।

एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ ।

नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *