काठमाडौं चैत १३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार (चैत १७) सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुदूरपश्चिम प्रदेश क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग सामूहिक भेट गरी उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
त्यस अवसरमा उनले उक्त विश्वविद्यालय अघि बढाउन आवश्यक बजेट तत्काल निकासा गराउने समेत बताएका भेटमा सहभागी कञ्चनपुर क्षेत्र नम्बर–१ का सांसद जनकसिंह धामीले जानकारी दिए ।
प्रधानमन्त्री बालेनले चालु आर्थिक वर्षको बजेट सीमित भएकाले त्यसले धान्ने गरी तत्काल गर्नुपर्ने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताएका थिए ।
आफूहरूले प्रधानमन्त्रीलाई भारतसँगको सीमा क्षेत्रको व्यवस्थापन, खानेपानी, शिक्षा, स्वास्थ्यका अति आवश्यक विषयका बारेमा जानकारी गराएको सांसद धामीले बताए ।
“प्रधानमन्त्रीको तर्फबाट खासगरी दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय जो छ, त्यसलाई अगाडि बढाउने भन्ने पनि आएको छ । र, गोकुलेश्वर एयरपोर्टलाई कसरी छिटो सञ्चालनमा ल्याउन सकिन्छ, त्यो कुरा पनि आएको छ,” उनले भने, “यी दुईवटा कुराहरू महत्त्वपूर्ण रूपमा आएका छन् ।”
बैठकमा प्रधानमन्त्री बालेनले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने आश्वासन दिएका थिए ।
धनगढी–दिपायल दु्रतमार्ग, अति जरुरी सडक, खानेपानीलगायत जनताका समस्याबारे पनि प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गरिएको भेटमा सहभागी कैलाली क्षेत्र नम्बर–४ का सांसद खेमराज कोइरालाले बताए ।
प्रधानमन्त्री बालेनले विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउन सांसदहरूसँगका भेटवार्तालाई निरन्तरता दिएका छन् । उनले अति जरुरी जनचासोका योजनालाई रोकेर राख्ने पक्षमा सरकार नरहेको बताउने गरेका भेटमा सहभागी सांसदले जनाएका छन् । न्युज एजेन्सी नेपाल