काठमाडौँ : प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । संसद् सचिवालयका अनुसार बैठक सञ्चालनका लागि आवश्यक भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्ति तयारी पूरा भइसकेको छ। राष्ट्रियसभाको बैठक भने सङ्घीय संसद् सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ।
संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउनेछन् ।
त्यसपछि प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। सभामुख अनुपस्थित भएमा बैठक सञ्चालनका लागि सदस्यहरूको मनोनयन गर्ने कार्यसूची पनि तय गरिएको छ।
अधिवेशन प्रारम्भका अवसरमा दलगत आधारमा सांसदहरूले मन्तव्य राख्नेछन् भने सभामुख पदको निर्वाचनका लागि मिति तोक्ने कार्यक्रम पनि रहेको छ।