तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले ‘बाँदर आतंक’ नियन्त्रणका लागि जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ । अन्नबाली, तरकारी र फलफूल बाँदरले नष्ट गर्न थालेपछि नगरपालिका सामूहिक ‘बाँदर लखेट’ अभियानमै चलाएर बिदा दिएको हो ।
बाँदर आतंकका कारण किसान रातदिन खेतबारी कुरेर बस्न बाध्य भएका छन् भने विद्यालय उमेरका बालबालिकासमेत पढाइ छाडेर बाली जोगाउन खटिनुपर्ने अवस्था सिर्जना भएको नगर प्रमुख अर्जुन माबोहाङले जनाएका छन् ।
नगरपालिकाले जारी गरेको सूचनामा बाँदरको समस्या कृषि क्षतिमा मात्र सीमित नरहेको उल्लेख गर्दै यसले किसानको आय, परिवारको दैनिकी र बालबालिकाको शिक्षामै असर पुर्याएको जनाएको छ।
यसैलाई मध्यनजर गर्दै जेठ १ र २ गते सामूहिक रूपमा बाँदरलाई गाउँ–बस्तीबाट लखेटेर नगरपालिकाको सिमाना बाहिर पठाउने अभियान सञ्चालन गरिने भएको छ । अभियानमा कृषक, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई सहभागी हुन आह्वान गरिएको छ ।
नगरपालिकाले बाँदर नियन्त्रणका लागि विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी हेरालुसमेत खटाएको जनाएको छ । वडा नम्बर ८ को मेघा पुछार, वडा नम्बर ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नम्बर ५ को सिंहथाप पुछार क्षेत्रमा अहिले चार जना हेरालु परिचालन गरिएको छ ।
पछिल्लो समय पहाडी जिल्लामा बाँदरका कारण ठूलो चुनौती बन्दै गएको छ । मकै, आलु, फलफूल र तरकारी खेतीमा क्षति बढेपछि कतिपय किसान खेतीपाती नै छाड्न बाध्य भएको गुनासोसमेत बढिरहेको छ।