काठमाडौं । ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानमा चयन भएकी छन् । अरूणा शाही अस्ट्रेलिया गएपछि नेपाल भलिबल संघले निरुतालाई कप्तानमा नियुक्त गरेको हो ।

संघको शुक्रबार बसेको ६९औँ केन्द्रीय कार्यसमितिको बैठकले ठगुन्नालाई राष्ट्रिय टोलीको कप्तानी जिम्मेवारी दिने निर्णय गरेको हो ।उनी राष्ट्रिय टोलीकी सिनियर खेलाडी हुन्। 

सुदुरपश्चिमको दार्चुला नौगाड गाउँपालिका ६, धुलिगडा खेडाकी निरुता अहिले नेपाली राष्ट्रिय टिमकी उत्कृष्ट स्पाइकरमध्ये एक हुन् । पछिल्लो सममा राष्ट्रिय भलिबल प्रतियोगितामा उनले त्यसलाई प्रमाणित गरेकी छिन् ।

नियमित कप्तान अरुणा शाही अस्टेलिया लागेपछि नेपाली टोलीको कप्तानबारे चर्चा हुदै आएको थियो। कप्तानको रुपमा निरुतासँगै उषा भण्डारी र सलिना श्रेष्ठलगायतको चर्चा चलेको थियो। 

दुई वर्ष त्रिभुवन आर्मी क्लबमा बिताएकी निरुताले २०७६ मा एपीएफ पुगेकी हुन्। २०७६ कात्तिकमा बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जित्दा निरुता टोलीकी सदस्य थिइन्। 

यस्तै मंसिरमा घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जित्दा पनि निरुता टोलीकी महत्त्वपूर्ण सदस्य थिइन्।

निरुताको नेतृत्वमा अब नेपाली महिला टोलीले आगामी साता काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *