एजेन्सी –आईपीएल २०२६ को ६१औँ खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले पञ्जाब किङ्स लाई २३ रनले पराजित गर्दै जारी सिजनको प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।

आइतबार धर्मशालामा भएको खेलमा पञ्जाब किंग्स लाई २३ रनले हराउँदै आरसिबीले प्लेअफमा स्थान सुरक्षित गरेको छ।

पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो। जवाफमा पञ्जाब किंग्स २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रनमै सीमित भयो।

आरसिबीका लागि वेंकटेश अय्यरले अविजित ७३ रन बनाए। त्यस्तै विराट कोहली ले ५८ रन र देवदत्त पडिक्कल ले ४५ रन जोडे।

पञ्जाबका लागि शशांक सिंह ले २७ बलमा ५६ रन बनाए भने कुपर कोनोली ले ३७ रन जोडे।
बलिङतर्फ आरसिबीका रसिख सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमार ले २ विकेट लिए।

आरसिबीले पावरप्लेमा राम्रो सुरुआत गर्‍यो। पडिक्कलले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ३ छक्का र ४ चौका प्रहार गरे। कोहली ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै लयमा देखिए।

पावरप्ले सकिँदा आरसिबीले १ विकेट गुमाएर ६१ रन बनाएको थियो। कोहलीले यस सिजनमा ५ सय रन पूरा गर्दै अर्को अर्धशतक पनि बनाए। उनले पडिक्कलसँग मिलेर दोस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे।

यो सिजनमा सीमित अवसर पाएका वेंकटेश अय्यरले यस खेलमा मौका पाएपछि उत्कृष्ट प्रदर्शन गरे। उनले ४० बलमा अविजित ७३ रन बनाउँदै टोलीलाई ठूलो स्कोरतर्फ पुर्‍याए।

उनको इनिङका कारण आरसिबीले २ सय रन पार गर्‍यो। अन्तिम ओभरहरूमा टिम डेभिड ले पनि छिटो २८ रन जोडे।

२ सय २३ रनको लक्ष्य पछ्याएको पञ्जाबले निकै खराब सुरुआत गर्‍यो। भुवनेश्वर कुमार र रसिख सलामको उत्कृष्ट बलिङका कारण पञ्जाब ४ ओभरभित्रै ३ विकेट गुमाउँदै १९ रनमा सीमित भयो।

पछि शशांक सिंहले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ५६ रन बनाए। उनले केही छक्का प्रहार गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे। तर आवश्यक रनरेट बढ्दै गएकाले पञ्जाब लक्ष्यसम्म पुग्न सकेन।

यो हारसँगै पञ्जाबले लगातार छैटौँ खेल गुमाएको छ। सिजनको सुरुआत राम्रो गरेको पञ्जाब अहिले प्लेअफ पुग्ने सम्भावना जोखिममा परेको छ।

साविक विजेता आरसिबी भने यो जितसँगै आइपिएल २०२६ को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *