२१ जेठ ,काठमाडौं । नेपाल-चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७ सय ७५ वटा विद्युतीय सवारी साधन (इभी) सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नम्बर प्लेट बिना भित्र्याइएका यी इभीहरू कास्कीदेखि मुस्ताङसम्मका विभिन्न सडक खण्डमा विशेष जाँचका क्रममा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा विद्युतीय सवारी साधनमा करको दर हेरफेर हुने सूचना बजेट भाषणअगावै चुहिएको र सोही आधारमा ठूलो संख्यामा गाडी भित्र्याइएको आशंका छ ।

भन्सारका कर्मचारी, एजेन्ट र व्यापारीहरूको मिलेमतोमा बजेट वक्तव्यभन्दा पहिले नै द्रुत गतिमा जाँचपास गराएर गाडीहरू छिराइएको विशेष सूचनाका आधारमा सरकारी संयन्त्र परिचालन गरिएको थियो ।

ती सवारी साधनहरूलाई अहिले प्रहरीको निगरानीमा राखिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप छानबिनका लागि भन्सार कार्यालयलाई जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *