ललितपुर, जेठ २० । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)को राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशनबाट रेभ. डा. किरण कुमार परियार विजयी भएका छन् ।
ललितपुरको आराधना मण्डलीमा आयोजित ६६ औं अधिवेशनबाट परियार तीन वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
परियारले ३५९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा अर्का प्रत्यासी रेभ. वीर बहादुर कार्कीले ३२१ मत पाएका निर्वाचन समितिका संयोजक रेभ. चन्द्रमान नेपालीले जानकारी दिए ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मंगलबार बिहान निर्वाचन भएको थियो । एनसीएफ नेपालका ७ सय ६६ प्रतिनिधिहरुमध्ये ७ सय ३ मत खसेको थियो ।
त्यस्तै, उपाध्यक्षमा तारासिंह गुरुङ, सचिवमा ईश्वरप्रताप लामा र कोषाध्यक्षमा वीरबहादुर तामाङ निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा उदयराज भट्ट, छवी मोक्तान, पदमप्रसाद सेडाईं, महेश दोङ र बोधराज सुनुवार निर्वाचित हुनुभएको छ।