रुपन्देही कारागारबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरेर ललितपुरको नख्खु कारागार पुर्‍याएको छ।

उनको स्वागत तथा समर्थनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटमा जम्मा भएका सयौँ कार्यकर्ता र समर्थकहरूले उनलाई देख्न समेत पाएनन्।

शनिबार साँझ बुद्ध एयरको उडानबाट काठमाडौं अवतरण गरेका लामिछानेलाई प्रहरीले विमानस्थलको मुख्य बाट बाहिर निकाल्ने अपेक्षामा रास्वपाका नेता, कार्यकर्ता र समर्थकहरू घण्टौंदेखि प्रतीक्षारत थिए।

तर, प्रहरीले भीडलाई छल्दै विमानस्थलको पूर्वी क्षेत्रमा रहेको नेपाल आयल निगमको बाटोबाट उनलाई बाहिर निकालेर सिधै नख्खु कारागारतर्फ लगेको हो। 

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए।

अदालतले करिब ४० दिनअघि नै कारागार सरुवाको अनुमति दिए पनि प्रक्रिया रोकिएको थियो। हालै राष्ट्रिय मानव अधिकार आयोगको टोलीसँगको भेटमा भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि सरकारले स्थानान्तरणको निर्णय गरेको हो।

विमानस्थलबाट सिधै नख्खु कारागार पुर्‍याइएका लामिछानेले अब बाँकी पुर्पक्ष अवधि त्यहीँ बिताउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *