काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शनिबार नख्खु कारागार फर्किएका छन्। उनले पाँचवटा माग सार्वजनिक गर्दै स्वेच्छाले कारागार प्रवेश गरेका हुन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीका अनुसार लामिछाने शनिबार साँझ कारागार प्रवेश गरेका हुन्।

लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो जन्मदिनकै दिन उपहारस्वरूप फेरि कारागार फर्किएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अबचाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु।”

जेनजीको अगुवाइमा भएको आन्दोलनका क्रममा कारागारमा तोडफोड भएपछि मंगलबार उनी कारागारबाट बाहिरिएका थिए। कारागार प्रशासनले कैदीबन्दीलाई फिर्ता हुन अपिल गरेपछि उनी फर्किएका हुन्। लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छन्।

कारागारबाट बाहिरिँदा प्रशासनले उनलाई पत्नी निकिता पौडेल लामिछानेको जिम्मामा दिएको थियो।

यस्ता छन् रवि लामिछानेका पाँच माग

१. २०४६ सालपछिका नीतिगत निर्णय तथा उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्छ।
२. देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकैपटक रद्द गरिनुपर्छ।
३. कर्मचारीदेखि न्यायपालिकासम्म पुनर्नियुक्तिको बाटो खोल्नुपर्छ, सुब्बादेखि न्यायाधीशसम्मले फेरि परीक्षा दिनुपर्छ।
४. सम्पूर्ण विश्वविद्यालयमा भएका राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित गर्नुपर्छ।
५. सम्पूर्ण राजदूत नियुक्तिमा पनि यही विधि लागू गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *